भत्कियो ११० वर्ष पुरानो संस्कृत विद्यालय

४ बर्ष अगाडि

काठमाडौं– महोत्तरीको मटिहानी नगरपालिका—७ स्थित नेपालकै जेठो संस्कृत माध्यमिक विद्यालयको भवन आज दिउँसो भत्किएको छ । 

बालागुरु षडानन्द पढेको सो राजकीय संस्कृत माध्यमिक विद्यालयको ११० वर्ष पुरानो भवन आज दिउँसो भत्किएको हो । 

प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सो आवासीय विद्यालयमा मुलुकको २७  जिल्लाका १५५ बटुक (विद्यार्थी) पढ्दै आएका छन् । छात्राबासका रुपमा प्रयोग हुँदै आएका आठ कोठामध्ये कोठा नं. १ को अचानक छतसमेत भत्किएको छ । बटुकहरु कक्षा कोठामा पढिरहेका बेला भवन भत्किएकाले मानवीय दुर्घटना हुनबाट जोगिएको उनको भनाइ छ । 

विसं १९६८ मा चुना, सुर्की, सख्खर, ईंट, बालुवालगायत सामग्रीको प्रयोगबाट बनेको सो भवनलाई मर्मतसम्भार गर्दै आएपनि छत चुहिने, पर्खालमा चिरा पर्ने, ठाउँ ठाउँमा चर्किनेजस्ता समस्या रहँदै आएको प्रधानाध्यापक पौडेलले बताए । विद्यालयलाई हालकै स्वरुपमा पौराणिक एवं ऐतिहासिक धरोहरकै रुपमा संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरे। भवन भत्किएपछि बटुकहरुलाई खान, बस्न, सुत्न र अतिरिक्त क्रियाकलाप गर्न समस्या हुने बताइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया