नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले सर्वोच्च अदालतले संविधान, लोकतन्त्र र शान्तिका लागि ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका हुन् । उनले अब मुलुकले फेरि ओलीतन्त्र व्यहोर्नु नपर्ने पनि टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायलयको ऐतिहासिक फैसला, अब देशले ओलीतन्त्र फेरि व्यहोर्नु पर्नेछैन ।’
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने बताएका छन् । दाहालले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने बताएका हुन् ।
‘पटकपटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु,’ दाहालले भने, ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ ।’
यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।
‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताएका छन्।
यस्तै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनमा सर्वोच्चको पछिल्लो फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको प्रतिक्रिया दिएका छन् ।भट्टराईले सर्वोच्चको फैसला सकरात्मक रहेको र यसले प्रतिगमनको यात्रामा ब्रेक लगाएको प्रतिक्रिया दिएका हुन् ।
यस्तै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला दिएको बताएका छन् । सर्वोच्चले संसद् पुनः स्थापनासहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेशबाट जनतामा सर्वोच्च अदालत प्रतिको विश्वास र सम्मानमा वृद्धि भएको निधिले बताए ।यस फैसलाबाट जनतामा सर्वोच्च अदालत प्रतिको विश्वास र सम्मानमा वृद्धि भएको छ।
यता नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्चको आदेशले पुनः एकपटक संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षामा महत्वपूर्ण योगदान पुगेको बताए । उनले फैसलाको पार्टीले स्वागत गरेको पनि बताए ।
प्रतिक्रिया