काठमाडौं – दलाई लामाले नोबेल शान्ति पुरस्कार पाएको उपलक्ष्यमा यही मंसिर २४ गते काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुफामा भव्य कार्यक्रमको आयोजना गर्ने कुरा सार्वजनिक भइरहँदा नेपाल प्रहरीका एकजना एआईजी भने लामाका प्रतिनिधिलाई भेटेर आशिवार्द लिएको कुरा खुल्न भएको छ ।
आईजीपी बन्न धेरै नै लबिङ गरेका एआईजी पुष्कर कार्की दलाई लामाका नेपालस्थित प्रतिनिधि मास्टर कर्मा तान्पाईको निवास लाजिम्पाटमा आशिवार्द लिन पुगेको खुल्न आएको हो ।
एआईजी कार्कीले दलाई लामाका प्रतिनिधि तान्पाईलाई भेटेको विषयले नेपाल प्रहरीभित्रै हलचल मच्चिएको छ । सरकारले बारम्बार चिनियाँ अधिकारसँगको भेटमा नेपालमा तिब्बती शरणार्थीबाट हुने चीन विरोधी गतिविधि रोक्न प्रतिबद्वता जनाउँदै आएको छ ।
‘तर, त्यही प्रतिबद्वता विपरित हाम्रा ‘एआईजीसाप’ दलाई लामाको मान्छेलाई भेट्न जानु अलि सुहाउँदै भएन्,’ नेपाल प्रहरीका एक अधिकारीले भने, ‘उहाँले कुन उद्देश्यले तान्पाईलाई भेट्नुभएको हो, त्यो त हामीले थाहा हुने कुरा भएन । तर, जिम्मेवार पदमा बसेका एआईजी जस्तो व्यक्तिले प्रश्न उठिसकेपछि स्पष्ट पार्नैपर्छ ।
एआईजीसाप कार्की र तान्पाईबीच भएको भेटमा के कुरामा छलफलमा भएको थियो भन्ने खुलेको छैन । तर, सार्वजनिक भएको फोटोमा एआईजी कार्कीले लामाका प्रतिनिधिसँग शिर निहुराएर आशिवार्द लिएको प्रष्ट देख्न सकिन्छ ।
हामीलाई प्राप्त तस्बिरमा खरानी रंगको कोट लगाएका एआईजी कार्कीलाई तान्पाईले खादा ओढाएर सम्मान गरेको देखिन्छ । खादा लगाएसँगै आफ्नो चेम्बरमा बसाउँदै यी दुई बीच करिब एकघण्टा भलाकुसारी चलेको स्रोत बताउँछ ।
यस विषयमा एआईजी कार्कीसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । यद्यपी दलाई लामाले पुरस्कार पाएको सम्झनामा दलाई भक्तहरुले खुसीयाली मनाउने तयारीमा लागेको बेला कार्की र तान्पाईबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
त्यस्तै प्रकाश अर्याले आईजीपीबाट अवकाश पाएसँगै नयाँ आईजीपीको लागि डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्न्यात प्रतिस्पर्धामा थिए । तर, नेकपा अध्यक्ष प्रचण्डको आशिवार्दले आईजीपीको फुली सर्वेन्द्र खनालले लगाउन पाए ।
सर्वेन्द्र आईजीपी भएको करिब ४ महिनापछि डीआईजी रहेका कार्की पहिलो नम्बरमा एआईजीमा बढुवा भएका थिए । हाल एआईजी पुष्कर कार्की अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख रहेका छन् ।
प्रतिक्रिया