एजेन्सी - युरोकप २०२० को उत्कृष्ट युवा खेलाडीमा स्पेनका पेड्री घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए ।
तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट खेल देखाएका थिए । पेड्रीले उक्त खेलमा ६६ मध्ये ६५ पास पूरा गरेका थिए । जसले गर्दा उनको चर्चा चुलिएको थियो ।

स्पानिस क्लब बार्सिलोनाबाट खेल्ने पेड्री आन्द्रेज इनेएस्टाभन्दा राम्रो रहेका खेलपछि स्पेनका प्रशिक्षक लुइस एनरिकेले बताएका थिए । गत संस्करणबाट प्रदान गर्न थालिएको युवा खेलाडीको अवार्ड यसअघि २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले जितेका थिए ।
साथै इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । गएराति भएको खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।
प्रतिक्रिया