एजेन्सी - युरोकपको उपाधि इटालीले हात पारेको छ । सोमबार राति भएको फाइनलमा इटालीले इङ्ग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै ५२ वर्षपछि दोस्रोपटक उपाधि उचालेको हो ।
यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा उपाधि जितेको थियो । इङ्ल्यान्डको लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको समयमा १–१ बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई वटा प्रहार बचाएका थिए । तर तीन जना खेलाडी गोल गर्नबाट चुकेपछि इटाली युरोपियन च्याम्पियन बनेको हो । खेलको सुरुवाती दोस्रो मिनेटमै इङ्ग्ल्यान्डले अग्रता लिएको थियो ।
उसका लागि ल्युक शले गोल गरेका थिए । तर, दोस्रो हाफमा खेलको ६७औं मिनेमा इटालीका लिओनार्दो बोनुचीले बराबरी गोल गरे । त्यसपछि दुवै टिमले गोल थप्न सकेनन् ।

साथै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकपको सर्वाधिक गोलकर्ता बनेका छन् । सोमबार सम्पन्न युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका हुन् ।
साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भएका हुन् । उनले समूह चरणमा ३ खेलबाट ५ गोल गरेका थिए । चेक रिपब्लिकका प्याट्रिक सिकले पनि रोनाल्डो समान पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहे ।
रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २-२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए । यस्तै ४ गोल गरेका फ्रान्सका करिम बेन्जामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहे ।
सन् १९६० देखि हरेक ४-४ वर्षमा हुँदै आइरहेको युरोकपको अर्को संस्करण अब जर्मनीले २०२४ मा आयोजना गर्नेछ ।
प्रतिक्रिया