मकवानपुर जिल्लाका विभिन्न तीन स्थानमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया , हेटौँडा– ७ नागस्वतीमा समृद्ध पुस्तकालय र हेटौँडा–६ मा शान्ति पुस्तकालय स्थापना भएको हो ।
स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी एक महिनाको अवधिमा तिनै स्थानमा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् ।
यसैबीच सबैभन्दा पछिल्लो पटक बकैया गाउँपालिका–४ मा बकैयामा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि रु ५० हजार बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको हो ।
पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईंबीच हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागाईँ, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दङ्गाल, एसके निधन र राम मङ्ग्रातीले जनही रु पाँच हजारका दरले योगदान गरेका छन् ।
प्रतिक्रिया