आइतबार मध्यराति इंग्ल्यान्ड र इटालीबीच युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुँदै छ । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलोपटक मेजर फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । इटाली पनि सन् १९६८ पछि दोस्रोपटक युरोकप ट्रफी उचाल्ने तयारीमा छ । जुन टोलीले उपाधि जिते पनि नयाँ इतिहास रच्नेछन् ।
५५ वर्षपछि उपाधि जित्ने अभियानमा रहेको इंग्ल्यान्डको टोलीलाई रंगशालामै समर्थन गर्न उनीहरू जुनसुकै मूल्य चुकाउन लागिपरेका छन् । यसको एउटा उदाहरण हो, एकजना इंग्लिस समर्थकले फाइनल खेलको एउटा टिकट ५४ हजार पाउन्ड तिरेर किनेका छन् ।
अघिल्लो साता नै टिकट ‘सोल्ड आउट’ भइसक्दा पनि इंग्लिस समर्थकहरू युइएफएको आधिकारिक वेबसाइटमा टिकट खोज्न बारम्बार चेक गरिरहेका छन् ।
फाइनल खेलको टिकट ‘सोल्ड आउट’ भए पनि ती दर्शकले ‘ब्ल्याक’मा ५४ हजार पाउन्ड खर्चेर वेम्बली रंगशालामा सिट सुरक्षित गरेका हुन् ।
यस्तै, बेलायती मिडियाहरूले टिकोम्बो वेबसाइटमा एक समर्थकले ५४ हजार पाउन्डमा फाइनलको टिकट किनेको खुलाएका हुन् । यही वेबसाइटमा एक सय ८० वटा टिकट बिक्रीमा समेत राखिएको छ । टिकटको सुरु मूल्य नै ४३ हजार पाउन्ड छ । बेलायतकै एक अर्को वेबसाइटले लाइभ फुटबल टिकट नामबाट केही दिनअघि प्रतिटिकट ११ हजार पाउन्डमा बिक्री गरेको थियो । यसैगरी, अर्का एक समर्थकले पनि ३२ हजार पाउन्डमा फाइनलको टिकट लिएको उल्लेख छ ।
युइएफएले फाइनलको टिकट मूल्य तीन हजारदेखि पाँच हजार पाउन्ड तोकेको थियो । युइएफएले पनि युरोकप फाइनलको टिकट ‘ब्ल्याक’मा बिक्री भइरहेको जानकारी पाएको जनाएको छ ।
प्रतिक्रिया