पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ ।
पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यस्तै असार २४ गते पाल्पाको चौबिस गते विहान पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टिखानीमा गएको पहिरोले घर पुरिएर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार गराइरहेकी ७५ बर्षीया सुन्दरी गुरुङको गएराति साढे ११ बजेको समयमा मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गुरुङको शव पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पतालमा ल्याइएको छ । पहिरोमा पुरिएर अन्दाजी ४० बर्षीय बिरबहादुर गुरुङको घटना स्थल मै मृत्यु भएको थियो ।
सोही टोलको रमेश परियार र पुजा परियारका ४ बर्षिय छोरा आरोप परियारलाई प्रहरीले केहि घण्टा पछि मृत्य फेला पारेको थियो ।
प्रतिक्रिया