एजेन्सी - युरो कप फुटबलको फाइनल खेल आइतबार राति नेपाली समयअनुसार १२ः४५ बजे शुरु हुँदेछ । इङ्गल्याण्डको लण्डनस्थित वेम्ब्ली स्टेडियममा घरेलु टिम इङ्गल्याण्ड र इटालीबीच उपाधि भिडन्त हुँदैछ ।
यो फाइनल जति रोचक हुने देखिएको छ त्यत्तिकै चुनौतीपूर्ण पनि हुने देखिएको छ । यसको प्रमुख कारण हो कोरोना भाइरसको महामारी । ९० हजार दर्शक क्षमता भएको वेम्बली रंगशालामा फाइनल खेल हेर्न सबै टिकट विक्री भइसकेको छ । फाइनल खेलमा लागि गतसाता नै सबै टिकट विक्री भइसकेको युरोपेली युनियन फुटबल एसोसिएसन९युइएफए०ले जानकारी दिइसकेको छ ।
तर फाइनल खेलको टिकटको कालो बजारी भइरहेको बेलायती मिडियाले जनाएका छन् । इङ्ल्याण्ड समेत फाइनलमा पुगेको अवस्थामा आफ्नै देशमा भएको फाइनल खेल हेर्न धेरै जना लालायित छन् । दशकौँ पछि आएको यो अवसरको उपयोग गर्नका लागि ब्ल्याकमा चर्को मूल्य तिरेर पनि फाइनल खेल हेर्न टिकट किनिरहेका छन् ।
बेलायती मिडियाले गरेको दाबी अनुसार एकै टिकट दर्जनौ पटक किनबेच भइरहेको छ । युइएफएले आफ्नो वेब साइटमा राखेको दर अनुसार फाइनल खेलमा टिकटको मूल्य ९५ युरो देखि ९४५ युरोसम्म छ । तर ५० हजार युरो भन्दा बढी मूल्य समेत ब्ल्याकमा टिकट किनबेच भइरहेको बेलायती मिडियाले जनाएका छन् ।
१९६६ पछि पहिलो पटक इङ्ल्याण्ड फाइनलमा पुगेकाले इङ्ल्याण्डका समर्थकले सक्दो मूल्य तिरेर पनि खेल हेर्न चाहेको देखिन्छ । आयोजक युइएफएले अन्य वेब साइटबाट टिकट खरिद गर्न प्रतिबन्ध लगाएको छ ।
यति महंगो रकम तिरेर कोरोनालाई नै निम्तो दिएको आशंका बढिरहेको छ । सेमिफाइनल खेलमा ६५ हजार दर्शक रंगशालामा उपस्थित थिए । कोरोनाको तेस्रो लहर आइरहेको बताइँदा इङ्गल्याण्डको वेम्ब्ली रंगशालाबाटै कडाखाले भाइरस इङ्गल्याण्ड र इटालीमा फैलने र त्यसले विष्फोटको काम गर्ने आशंका गरिएको छ ।
युरोपमा युरोकपको अवधिमा कोरोना निकै नै बढेको छ । पछिल्लो एक हप्तामा युरोपमा कोरोना ४३ प्रतिशतले बढेको छ । इङ्गल्याण्डमै पनि जुन महिनाको तुलनामा जुलाईमा चार गुणा संक्रमित बढेका छन् ।
प्रतिक्रिया