उपत्यकामा मेलम्चीको पानी आउन अझै तीन महीना लाग्ने

४ बर्ष अगाडि

काठमाडौं - मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ । सो आयोजना स्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ ।

भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ ।

समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए ।

प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने उनले बताए । अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जनाएको छ ।

सुरुङको निर्माण सम्पन्न भएर केही महीना पहिलेबाट मात्रै काठमाडौँ उपत्यकामा पानी ल्याउन थालिएको थियो । आयोजनाले यही असार १ गतेदेखि सुरुङको निरीक्षण थालेको थियो । सोही दिन हेडवर्क माथिबाट आएको पहिराका कारण आयोजनाको सुरुङ बाहेक अरु संरचनामा क्षति पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया