बस्तिपुरमा झडप ६ वटा मोटरसाइकल जलाइयो

४ बर्ष अगाडि

रौतहटमा झडप भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तिपुरमा  झडप हुदा १० जना घाइते भएका छन् । त्यसक्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा समेत आगो लगाइएको छ ।

बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो ।

घाइतेहरुको चन्द्रपुरस्थित अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहले जानकारी दिए ।

घटनाबिवरण अनुसार स्थानीय श्रीराम चौधरीले गाउँको  १ बिगहा १८ कठ्ठा सार्वजनिक जग्गा जालझेल गरि केही समय अघि आफ्नो नाममा गराएका थिए ।

उक्त घटना सार्वजनिक भएपछि गाउँलेहरुले सार्वजनिक जग्गा फिर्ता गर्न पटक पटक छलफल गरेका थिए । तर चौधरीले जग्गा फिर्ता गर्न मानेका थिएनन् ।

यो घटनामा सवै गाउँले एकातिर र चौधरी परिवार अर्कोतिर छन् । यहीँ विवादमा गाउँलेहरुले चौधरीको परिवारलाई नै बहिष्कार गरेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया