काठमाडौं - नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका पूर्व नेताहरु आज फेरी निर्वाचन आयोग जाने भएका छन् । माओवादी केन्द्रका पूर्व नेता मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू निर्वाचन आयोग जान लागेका हुन् ।
नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जान लागेको बताइएको छ । नेता मणि थापाले आफूहरू आज बिहान ११ बजे निर्वाचन आयोग जाने बताएका छन् ।
उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए । माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ।
संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो ।
प्रतिक्रिया