एजेन्सी - पेरिस सेन्ट जर्माइनले इन्टर मिलानबाट फुलब्याक असर्फ हाकिमीलाई ७ करोड युरोमा अनुबन्ध गरेको छ । गत सिजनमात्रै हाकिमी इन्टर मिलान आएका थिए । उनले त्यस सिजन इन्टरलाई इटलीको च्याम्पियन बनाए ।
आक्रमणमा पनि उत्तिकै तेज उत्रनसक्ने यी डिफेन्डरलाई गुमाउनु इन्टरका लागि ठूलो धक्का हो, यद्यपी आर्थिक कठिनाईका कारण इन्टरका लागि यो स्थानान्तरण आवश्यक थियो । इन्टरलाई लिग जिताउने क्रममा उनले गत सिजन ३७ खेल खेलेका थिए ।
क्लबका सिईओ जुसेप्पे मोराटाले आर्थिक कठिनाईकै कारण हामिकीलाई बेच्नुपर्दा निकै दुख लागेको बताए । ‘पक्कै पनि यो दुखदायी क्षण हो । तर म एक प्रशासक हुँ, जसले विश्व फुटबल कठिन समयबाट चलिरहेका बेला क्लबको आर्थिक अवस्थालाई हेर्नुपर्छ । हाकिमीको स्थानान्तरणपछि हामीले केही राहतको सास फेर्नेछौं र हामीलाई आशा छ यसपछि लिग जित्ने अन्य कुनै ठूला खेलाडीलाई बेच्नुपर्नेछैन ।’
मोराटाले लाउटारो मार्टिनेज क्लबमै बसुन् भन्ने चाहेका छन् । यता, रोमेलु लुकाकुले पनि इन्टरमै बस्न प्रतिवद्ध रहेको जनाएका छन् । २२ वर्षका हाकिमीको आगमनले पिएसजीलाई थप सुदृढ बनाउने आशा गरिएको छ । उनीसँग रियल म्याड्रिड र बोरुसिया डर्टमुन्डबाट खेलेको अनुभव पनि छ ।
प्रतिक्रिया