पहिरो खस्दा तीन ठाउँमा सडक अवरुद्ध, पुरिएर एक जनाको मृत्यु

४ बर्ष अगाडि

पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उनले बताउनुभयो । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् ।

उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । 

यता ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिएका छन् । ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको थियो । 

पहिराले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ । उनको शव पनि दिउँसो मात्रै फेला परेको थियो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको थियो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन् । यस्तै खोलाले बगाएर बेपत्ता भएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया