साढे ३ वर्षीय बालकको कुलोमा धकेली हत्या

४ बर्ष अगाडि

टीकापुर नगरपालिका–१ ब्लक नं ८ का साढे ३ वर्षीय बालकको हत्या भएको छ ।

विवेक विष्टको उनकै दिदी नाता पर्नेले जमरा कुलोको डिलमा लगेर कुलोमा धकेली हत्या गरेको प्रहरीले जनाएको छ ।

जामुन खाने निहुँमा बालकलाई घरबाट आफूसँगै लगी हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनले भने, ‘घरबाट करिब ५ सय मिटर उत्तरतर्फ जमरा कुलोको डिलमा लगेर बालकको खुट्टामा रहेको बाला निकालेर धक्का दिइ कुलोमा खसालेर उनले हत्या गरेको स्वीकारेकी छिन् ।’

जमरा कुलो नजिक घटना भएको र अनुसन्धानबाट बालकको अपहरण भएको शंका नभएपछि बालक जमरा कुलोमा हुन सक्ने अनुमान गरिएको थियो । कुलोको पानी घटाउन लगाएर खोजी गर्दा घटनास्थलबाट करिब ५ किलोमिटर तलतिर टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा बालकको शव भेटिएको उनले बताए ।

मृतक विवेक विष्ट सोमबारबाट बेपत्ता भएका थिए । उनको शव बुधबार फेला परेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया