भण्डारी मृत्यु प्रकरण : सय बढीसँग सोधपुछ, बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज

४ बर्ष अगाडि

काठमाडौं - पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ । 

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको उनले बताए । उनले भने, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।” बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ । 

उनले भने,“अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।” घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उनको भनाइ छ । भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ । 

“शव भेटिए देखि नै अनुसन्धानको कामलाई अप्ठ्यारोमा पार्ने काम भएको छ”, उनले भने “शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् उनको भनाइ छ । 

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उनले जानकारी दिए । शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए । 

अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उनको भनाइ छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कफ्र्यू जारी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया