प्रधानमन्त्रीबिरुद्ध खनिए काँग्रेस नेता कोईराला र थापा, चर्को आलोचना गर्दै राजिनामा दिनुपर्ने माग

७ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता डा.शेखर कोईराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोईराला र थापाले यस्तो माग अघि सारेका हुन् ।  

कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोईरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे । नैतिकता गुमाईसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै नेता कोईरालाले उनले अब तत्काल राजिनामा दिनुपर्ने बताए ।

केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए । ‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाईसके । उनलाई अव १ मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएकाले तत्काल राजिनामा दिनुपर्छ ।’ एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे । 

फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट काँग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियताका हिसावले मोरङ क्षेत्र नम्बर ३ उदाहरणीय रहेको भन्दै नेता कोईरालाले सो क्षेत्रमा काँग्रेस नेता डा.सुनिल शर्मा लगायतको सक्रिय भूमिकाको प्रशंसा गरे । मोरङको ३ नम्बर क्षेत्र काँग्रेसको किल्ला भईसकेकाले अब यसलाई कसैले तोड्न नसक्ने उनको दाबी छ । 

यसैवीच कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार बर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन् । नेकपा नेतृत्वको सरकार एक बर्ष भित्रै धेरै आलोचित भएर असफल सावित भईसकेको उनले बताए । 

सरकार गठनका लागि मात्र एमाले र माओवादी एक भई नेकपा पार्टी बनेको भन्दै नेता थापाले यो पार्टी सरकारमा पुग्न सफल भएपनि सरकार चलाउँन असफल भएको जिकिर गरे । ‘यो सरकार अव चार बर्ष रहनु भनेको देशले चार बर्ष खेर फाल्नु हो ।’ नेता थापाले भने ‘अब काँग्रेसले सरकारमाथि निगरानी र हस्तक्षेप गर्नुको विकल्प छैन ।’    

यता मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका छन् । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया