मनसुन अपडेट : हालसम्म ४२ जानाको मृत्यु,  ३१ जना बेपत्ता र ५० जाना घाइते

४ बर्ष अगाडि

काठमाडौं - यस वर्षको मनसुन सुरु भएको एक महिना नपुग्दै बाढी, पहिरो जस्ता मनसुनजन्य घटनाबाट हालसम्म ४२ जानाको मृत्यु भईसकेको छ भने ३१ जना बेपत्ता र ५० जाना घाइते भएका छन् । 

गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन संचालन केन्द्रका अनुसार ४३ जिल्ला प्रभावित भएका छन् । २२ वटा नीजि आवास पूर्ण रुपमा क्षति भएको र ९० ओटामा आंशिक क्षति भएको छ । ३७ वटा सरकारी भवन, ९ सामुदायिक भवन, २५ वटा झोलुंगे पुल, १६ वटा पक्की पुल, हाईड्रोपावर २५ काठको पुल ७ र बैंक तथा बित्तीय संस्था २ वटामा क्षति पुगेको छ ।

गत जेठ ३१ देखि असार २१ सम्मको अवधिमा मुलुकभर २५० ओटा ठूला साना मनसुनजन्य घटना भएका छन् ।
 
राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरकणद्वारा हालसालै प्रकाशित मनसुन पुर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ अनुसार यो बर्ष मनसुनजन्य प्राकृतिक विपत्तीबाट १८ लाख जनसंख्या प्रभावित हुने छन् ।

बाढी पहिरो तथा पानीजन्य प्राकृतिक विपत्ती अझै बढ्ने र सतर्कता अपनाउन कार्ययोजनाले सुझाव दिएको छ । सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणाली लगायत संरचनाले पनि तराईका बस्ती र खेतवारी धेरै जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया