जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका पाँच वटा प्रदेशमा बुधवारबाट मनसुन थप सक्रिय हुने र तीन दिन केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ।
विभागले बुधवार बिहान जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिको समयमा अत्यधिक वर्षाको सम्भावना छ।
विज्ञप्तिमा भनिएको छ, ूप्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।ू
बिहीवार रातिको समयमा भने सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।शुक्रवार दिउँसोसम्म केही स्थानमा धेरै वर्षा हुने भए पनि रातिबाट सामान्य हुँदै जाने पूर्वानुमान छ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बुधवारदेखि तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरू विशेष गरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने छ।
त्यस्तै सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने अनुमान केन्द्रको छ।
यी बाहेक तिनाउ, कनकाई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनु गृह मन्त्रालयले भनेको छ।
वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम पनि बढ्ने कारण त्यसै अनुसार जोखिमयुक्त क्षेत्रमा पूर्व जानकारी गराइएको विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रवक्ता वेदनिधि खनालले बताए।
प्रतिक्रिया