काठमाडौं, दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले चालू वर्ष सन् २०२१ को दोश्रो त्रैमासिकमा कम्पनीको नाफामा ५३ प्रतिशतले वृद्धि भएको छ ।
सामसुङले अप्रिलदेखि जूनसम्मको अवधिमा साढे १२ ट्रिलियन कोरियन वन अर्थात् ११ अर्ब डलर मुनाफा कमाएको हो ।
दोश्रो त्रैमासिकमा सामसुङको कूल आम्दानीमा पनि १९ प्रतिशतले वृद्धि भएर ६३ ट्रिलियन वन पुगेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
सर्भर, मोबाइल फोन तथा अन्य कम्प्युटिंग डिभाइसहरुमा प्रयोग हुने डिआरएएम चिप्सको मूल्य पहिलो त्रैमासिकमा भन्दा दोश्रो त्रैमासिक अवधिमा २७ प्रतिशतले बढेको छ । त्यस्तै डाटा स्टोरेजमा प्रयोग हुने एनएएनडी फ्लास चिप्सको मूल्यमा पनि ८.६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको मेमोरी चिप्सको व्यापार अपेक्षाभन्दा उच्च हुँदा स्मार्टफोन बिक्रीमा भने केही गिरावट आएको छ । चालू वर्षको पहिलो त्रैमासिकमा ७ करोड ६० लाख स्मार्टफोन बिक्री गरेको सामसुङले दोश्रो त्रैमासिकमा ५ करोड ९० लाख गोटामात्रै स्मार्टफोन बेच्न सक्यो ।
प्रतिक्रिया