काठमाडौं–सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको बताएकी छन् ।
राउतले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूले श्रीमानबाट अन्याय खेप्नुपरेको बताएकी हुन् । उनले भनिन्,‘म ललिता राउत हुँ, २०६१ मंसिरमा मेरो विवाह भएको थियो, एउटी महिलालाई विवाहपछि बच्चा हुनुपर्छ भन्ने ठूलो चाहना हुन्छ, त्यो चाहनाबाट बञ्चित बनाइयो, मलाई बच्चा चाहियो भने, उहाँ भरे साँझमा घरमा आउनुहुन्थ्यो, मैले आफ्नो कुरा राख्थे, जहिले पनि पाटी, मिटिङ यस्तै यस्तै भनेर समय बिताउनुहुन्थ्यो ।’
उनले अघि थपिन्,‘बच्चाकोबारेमा दाजुभाउजुसँग कुरा गरें, उहाँहरुले मान्नुभएको थिएन । तर, पछि बल्लतल्ल मान्नुभयो, दुःख गरेर बच्चा मागे, हुर्काए केही समयपछि बच्चाको जन्मदर्ता गराउनुपर्ने भयो, त्यसमा आमाको नाम, बाबुको नाम चाहिनेभ यो, त्यसबेला मैले बाबुको नाम प्रकाशमान सिंह राउत र आमा ललिता कुमारी राउत नाम दिएँ ।’
ललिताले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘ममाथि भएको अन्यायलाई वास्तविक बुझि छानविन गरी, दोषीलाई कारबाही गरी मैले कानूनबमोजिम पाउनुपर्ने अधिकार तथा न्याय दिलाउनको लागि सहयोगको आवश्यक भएको महसुस गरेकी छु ।’
विज्ञप्तीमा थप भनिएको छ,‘सम्मानित सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको श्रीमती भएर पनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारण नागरिकहरुले न्यायको आशा कसरी गर्न सक्लान ? यो विषयमा सोच्नुपर्ने विषय भएको छ ।’
न्याय माग्दा आफ्नो पदीय शक्तिको दुरुपयोग गरी सरकारका निकायलाई गलत प्रयोग गर्न लगाई आफू र आफ्ना दुईजना दाजु भाउजुसहितलाई २२ दिनसम्म ईलाका प्रहरी कार्यालय कटारीको कष्टडीमा किन राखियो ? भन्दै उनले प्रश्नसमेत गरेकी छिन् ।
सोबारे छानविन गरि कानूनको दुरुपयोग गरि गलत अर्थ लगाई थुन्न लगाउने र सो कार्यमा संलग्न रहेकाहरुलाई निलम्वन गर्नसमेत उनले माग गरेकी छिन् ।
प्रतिक्रिया