काठमाडौं - ट्राफिक प्रहरी महाशाखाले आज चोरी भएको ३३ वटा मोटरसाईकल सम्बन्धीत धनीलाई बुझाएको छ । एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई उक्त मोटरसाइकल बुझाएका हुन् ।
बुझाइएको ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन् । चोरी भएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाईकल हुने गरेको तथ्याङ्कबाट देखिएको बताइएको छ ।
विशेष गरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण इलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अवस्थामा समेत फेला परेको बताइएको छ ।
निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरेका हुन् । चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबार्हीका लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको एसएसपी भट्टराईले बताए ।
चालु आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी वृत्तहरुमा पठाएको महशाखाले जनाएको छ ।
प्रतिक्रिया