काठमाडौं - नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल पुनः सक्रिय भएको छ । प्रतिनिधिसभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्कृय बनेको कार्यदल पुनः व्युँतिएको हो ।
कार्यदललको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको थियो । बैठकले विवाद भएका बिषयहरुमा बुदाँगत रुपमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्यदलको बैठक आज दिउँसो १ बजे पुनः बस्ने छ ।
त्यस्तै एमाले नेता भीम रावलले छलफल सकारात्मक रुपमा अघि बढेको र आज पनि छलफल हुने जानकारी दिए । यसअघि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।
कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।
त्यस्तै माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
प्रतिक्रिया