फिल्म निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दामा उनलाई सीआईबीको टोलीले सोमवार बिजुली बजारबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । प्रहरीले राणालाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ ९ग० बमोजिमको कसूरमा दफा १५ ९१० बमोजिम अदालतले सजायको फैसला सुनाएको थियो ।
शिशिर राणा दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन् । ‘तिमीसँग र पोई पर्यो काले’ गरी दुई फिल्मको निर्देशन गरिसकेका उनले ‘अन्दाज, वडा नम्बर छ, क्लासिक, वीर विक्रम, कायरा, रामकहानी’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् । ‘माला’ नामक फिल्मको निर्माण समेत गरेका उनी लकडाउन अगाडि अभिनेता दिक्पाल कार्कीलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा थिए ।

प्रतिक्रिया