३७ वर्षको इतिहास बोकेको कुमारी हल सधैंका लागि बन्द

४ बर्ष अगाडि

काठमाडौं, कोरोना महामारीका कारण नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् भने ३०र४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा छन् । 

मोफसलसँगै राजधानीभित्र पनि एकपछि अर्को सिनेमा हल सधैंका लागि बन्द हुन थालेका छन् । क्यूएफएक्स चेनको जय नेपाल हल लकडाउनपछि नै बन्द भएको थियो । यो हलबाट निर्मातालाई राम्रो शेयर पाउने गरेका थिए । कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ । 
 
शनिवारदेखि हलभित्र रहेका सबै सामानहरु हटाउन थालिएको छ । अब हल भएको भवन अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । ३७ वर्षको इतिहास बोकेको सिनेमा हल बन्द गर्नुको कारणबारे क्यूएफएक्सका सिइओ रोशन अडिगा भन्छन्, ‘कोरोना महामारीभन्दा अगाडि हल बन्द गर्ने विषयमा सोचेका थिएनौं । तर, कोभिडपछि खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएका हौं ।’
 
नेपालमा फिल्म प्रदर्शनको एउटा गर्विलो इतिहास बोकेको कुमारी हलमा पहिलो पटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन भएको थियो । २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको यो हलबाट नेपाली निर्माताले ठूलो मात्रामा शेयर पाउने गरेका थिए । फिल्मको च्यारिटी, प्रिमियर, प्रेस मिट, फिल्म महोत्सव लगायतका लागि कुमारी हल अत्याधिक प्रयोग हुने गरेको थियो । 
 
जयनेपाल र कुमारी हल सधैंका लागि बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ सिनेमा हल खोलेको छ । कोरोना महामारी सामान्य भएर फिल्म प्रदर्शन हुन थालेपछि दुवै ठाउँका सिनेमा हल सञ्चालनमा आउने सिइओ अडिगाले बताए । योसहित क्यूएफएक्सको आउटलेट संख्या १२ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया