काठमाडौं - किर्ते नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ परेका छन् । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दाङ देउखुरीको राजपुर गाउँपालिका – ७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित त्यही वडाका भीमबहादुर कामी र उनकी छोरी सुशीला विक रहेका छन् । भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तर, नागरिकता बनाउँदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् । नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा यस्तो भेटिएको हो ।
नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो । नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । यस कार्यमा भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया