कति पर्ला रसुवागढी र साञ्जेनको आईपीओ,  यस्तो छ हिसाब

७ बर्ष अगाडि

काठमाडौँ । सेन्ट्रल आश्वा प्रणाली अर्थात् सि– आश्वा लागू भएका कारण सम्भवतः आइतबार रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ) बाँडफाँड गर्ने तयारी गरिएको छ ।
 
नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको र एकाध दिनमा नै शेयर बाँडफाँड गर्ने तयारीमा आफूहरु रहेको रसुवागढी हाइड्रो पावर लिमिटेडका प्रमुख माधव कोइरालाले जानकारी दिए ।
 
गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने म्याद राखेर सञ्चयकर्तासँग आवेदन माग गरिएको शेयर वितरणमा लामो समय लगाउनु हुँदैन भन्ने मान्यतामा कम्पनी रहेको छ ।
 ती कम्पनीका शेयरमा  छ गुणा बढी आवेदन परेको छ ।
 
कतिको पर्यो रसुवागढीमा आवेदन ?
 
रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कोइरालाका अनुसार कूल ६ अर्ब ६२ करोड आठ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
 
कूल एक लाख ८६ हजार ३२४ जनाले आवेदन गरेको जानकारी प्राप्त भएको आयोजनाले जनाएको छ ।
 
कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख हजार रुपैयाँ बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो ।
 
कम्पनीका संस्थापक संस्थाका लागि भने यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको छ । कम्पनीको संस्थापक संस्थामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई  २३ करोड ९४ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।
 
रसुवागढीको शेयरमा कोषका करिब आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । जति संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको थियो त्योअनुसार सञ्चयकर्ताले भने आवेदन नदिएको बताइएको छ । रसुवागढीको सीमित आइपिओमा सञ्चयकर्तालाई न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
 
आयोजनाका प्रमुख कोइरालाले भने सिआश्वा प्रणाली लागू भएका कारण धेरै सञ्चयकर्ताले आवेदन दिन नपाए पनि उल्लेख्य आवेदन परेको बताए ।
 
 रसुवामा आयोजनास्थल रहेको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको हो ।
 
यस्तो छ साञ्जेनको हिसाब
यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु चार ४ अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् ।
 
कम्पनीले सञ्चयकर्ताका लागि  ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
 
कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीको शेयरमा सात लाख २९ हजार ७६१ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो ।
 
कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई  १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर छुट्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।  संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
 
सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरूका लागि रु ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दुवै कम्पनी चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी हुन् ।
 
कति पर्ला त शेयर ?
आवेदन रकम ६ गुणा बढी भएपनि कम सञ्चयकर्ता मात्रै सहभागी भएकाले बढी आवेदन गर्नेले बढी शेयर पाउने सम्भावना रहेको छ । दुवै कम्पनीमा धेरै लगानी गर्ने अर्थात् ८० हजार बराबरको आवेदन गर्नेलाई न्यूनतम ७० कित्तादेखि १०० कित्तासम्म शेयर पर्ने सम्भावना रहेको छ ।
 
कर्मचारी सञ्चय कोषका कार्यवहाक प्रमुख प्रशासनक दीपक रौनियारले पनि ती आयोजनामा सञ्चयकर्ता सबैले शेयर पाउने र बढी आवेदन गर्नेले बढी शेयर पाउने सम्भवना रहेको बताए । उनले भने सबै आवेदकलाई शेयर दिने ढंगले तयारी गरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया