थप खुकुलो पादैँ उपत्यकामा थपियो निषेधाज्ञा, के खुल्ने के नखुल्ने ?

४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारेर असार मसान्तसम्म थपिएको छ। यसअघि जारी निषेधाज्ञा भोलि सोमबार राति सकिँदै थियो। आइतबार बसेको काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूले बैठकले निषेधाज्ञालाई खुकुलो पार्दै असार ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

भोलिदेखि सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर बिजोर प्रणाली भने हटाइने भएको छ।

तर,  कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आग्रहसमेत गरेका छन्। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। माइक्रोको तेस्रो सिटमा चार(चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउने छन्।

यस्तै, एउटा हल वा कक्षा कोठामा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउनेगरी विभिन्न निकायको परीक्षा सञ्चालन गर्न पाइने भएको छ। साथै, एउटा सिफ्टको सबै बाहिरिएपछि मात्र अर्को सिफ्टको परीक्षार्थीलाई प्रवेश गराउने, स्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गराउने लगायत आदेशमा उल्लेख छ।

तर, मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न पाइने छैन। 

विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

यसैगरी,खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन नपाउने उनले बताए।

विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नरगराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)ले भौतिक उपस्थितिमा पठन(पाठन गर्न नपाउने सीडीओ पराजुलीले बताए। 

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया