काठमाडौं - राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निमार्ण थालेको दश वर्षपछि यसै सातादेखि पहिलो युनिटबाट उत्पादन थाल्ने भएको छ ।
गेम चेन्जर परियोजनाका रूपमा निमार्ण थालिएको आयोजनाको यसै साता पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली उत्पादन थाल्ने भएको हो । ४५६ मेगावाट जडित क्षमताको निर्माणाधीन आयोजनाको पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको हो ।
सोमबारबाट उत्पादन सुरु हुने ७६ मेगावाट विद्युत् वितरणका लागि प्रसारण लाइनको पनि व्यवस्था मिलाउन एक साताअघिदेखि नै नेपाल विद्युत प्राधिकरणले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरेर कार्य गरिरहेको बताइएको छ ।
यसका लागि ढल्केबरदेखि तामाकोशीसम्म ग्रिड जोड्ने काम भइसकेको छ । मङ्गलवार देखि नै प्रसारण लाइन चार्ज गर्ने कार्य सुरु भएको प्राधिकरणले जनाएको छ । तामाकोशी करिडोरबाट उत्पादन हुने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
प्रतिक्रिया