निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।
बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २८ वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह
पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले पानीको सतह अझै बढ्नसक्ने भएकाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताए ।
‘सप्तकोसीमा एक्कासि बहाव बढेको छ । वर्षा पनि निरन्तर भइरहेकाले अझै बढ्दै जाने देखिन्छ,’ उनले भने, ‘त्यही भएकाले नदी नजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको हो । बाढीका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय तयारी अवस्थामा छन् ।’
एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।
रातो बत्तीले पनि खतराको सङ्केत गर्ने भएकाले सबैलाई सावधानी अपनाउन सजिलो हुने गरेको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको छ ।
यस्तै निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।
डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए । त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो ।
नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।
पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउछन् । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताउनुभयो । सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेको उहाँले जानकारी दिए ।
शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्विरहरु सार्वजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए ।
प्रतिक्रिया