आ.व.को  अन्तिममा भने लक्ष्य भेटाउन दैनिक खर्च बढाउँदै सरकार, दैनिक १४ अर्ब रुपैयाँभन्दा धेरै खर्च

४ बर्ष अगाडि

काठमाडौ , आर्थिक वर्ष सकिन लागेसँगै बजेट खर्च गर्न नसकेको सरकारले आर्थिक वर्षको अन्तिममा भने लक्ष्य भेटाउन दैनिक खर्च बढाएको छ।

महालेखा नियन्त्रक कार्यालयको अनुसार पछिल्लो समय सरकारले दैनिक १४ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्न थालेको छ।

असार १७ गतेसम्ममा सरकारले जम्मा ६८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। असार लागेदेखि नै सरकारले बजेट खर्च केहि बढाएको छ। पछिल्लो केहि दिन यता यस्तो खर्च झनै बढेको छ। तथ्याँक अनुसार असार १३ गते ६ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट खर्च भएकोमा १४ गते ७ अर्ब २३ करोड, १५ गते १० अर्ब ७८ करोड, १६ गते १४ अर्ब र १७ गते १३ अर्ब १५ करोड रुपैयाँ बजेट खर्च भएको छ। यसले पछिल्लो केहि दिन यता बजेट खर्च ह्वातै बढेको देखिन्छ।

पूँजीगत खर्च लक्ष्यको ८० प्रतिशत अर्थात ७ खर्ब ६६ अर्ब ९४ करोड रुपैयाँ र पूँजीगत खर्च लक्ष्यको ४६ प्रतिशत अर्थात १ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ। यस्तै वित्तीय खर्च पनि लक्ष्यको ४७ प्रतिशत मात्रै भएको छ।

असार १७ गतेसम्ममा सरकारले लक्ष्यको ८३।५५ प्रतिशत राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेकोमा ८ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। त्यसैगरी कर, गैरकर जस्ता अन्य आम्दानी समेत गरी कुल ८ खर्ब ९४ अर्ब रुपैयाँ अम्दानी भएको छ।

चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा बजेटको अर्धवार्षिक समीक्षामा नै कुल बजेटको ९१ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान सरकारले प्रस्तुत गरिसकेको छ। यो भनेको कुल १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हो। अहिलेसम्मको खर्च हेर्दा संशोधित अनुमान भेटाउन समेत मुस्किल पर्ने देखिन्छ।

अर्ध वार्षिक समीक्षामा कुल खर्चमा चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड–विनियोजित बजेटको ९६।४० प्रतिशत, पूँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड–विनियोजित बजेटको ८०।२० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ – कुल विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्मको खर्च हेर्दा भने सरकारले गरेको यो अनुमानभन्दा पनि कम बजेट खर्च हुने देखिन्छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया