विहीबारदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, ४ सवारी पुरिदाँ एकको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं, पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले ४ सवारी पुरिएका छन । अविरल वर्षापछिका कारण पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । 

पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् । 

नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका २९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ । भने पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया