आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी, पुल  भासियो

५ बर्ष अगाडि

विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी ठाउँका बासिन्दा त्रसित भएका छन् भने उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।

वर्षायाममा महोत्तरीका धेरै जसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई दृष्टिगत गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् । 

यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रुपमा सतर्क भएको जनाइएको छ । 

यसैबीच जिल्लाको बलवा नगरपालिका–१ स्थित बर्दिया बञ्चौरी गाउँमा रातो नदीले तटबन्ध कटान गर्न शुरु गरेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाका अन्य स्थानमा पनि नदीको अवस्थाबारे प्रशासनले जानकारी लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । 

यता लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।  

सङ्घीय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५÷७६ बाट निर्माण शुरु गरिएको पक्की पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा आएको सामान्य पानीका कारण पुल भासिएको छ । रु १२ करोडको लागतमा निर्माण शुरु गरिएको पुलको लम्बाइ करीब २०० मिटर रहेको ठेकेदार मनोजकुमार साहले बताए । उनका अनुसार कूल लम्बाइ २०० मिटर रहेकामध्ये ४० मिटर भासिएको हो । पप्पु एन्ड शिवशङ्कर (जेभी)ले आव २०७५÷७६ बाट निर्माण शुरु गरी चालु आवमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो ।

पुल निर्माणको करीब ८० प्रतिशत काम सकिएको र बाँकी काम यही महिनाभित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीे करीब ४० मिटर पुल भासिँदा करीब रु दुई करोड घाटा लागेको बताएको छ । सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो । वर्षाको मौसम र बालुवामाथि फर्मा राखिएका कारण पुल पनि भासिएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया