नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

५ बर्ष अगाडि

काठमाडौं - पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । 

सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो । 

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बाढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो । 

बिहीबार बिहान साढे १० बजेबाट अवरुद्ध सडक साँझ मोटरसाइकल सञ्चालन गर्ने गरी डाइभर्सन गरिएको भए पनि केहीबेरमै पुनः अवरुद्ध बनेको थियो । 

सडक विस्तारका क्रममा पुराना पुल भत्काएर नयाँ ठूला पक्की पुल बनाउनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट क्षेत्रमा सात वडा डाइभर्सन निर्माण गरिएका थिए । 

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको बताइएको छ ।

नयाँ डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएपछि एम्बुलेन्स र साना सवारीसाधनलाई प्राथमिकतामा राखिएको बताइएको छ । 

एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा आएपछि सडकमा सवारीसाधनको चाप विस्तार घट्दै गएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया