नेपालमा बाढी पहिरोका कारण पछिल्लो १९ दिनमा ३३ को मृत्यु, आज यी नदिमा बाढी आउन सक्ने

५ बर्ष अगाडि

देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएको छ ।  गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भएका छन्।

त्यसमा हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। घाइतेको सङ्ख्या ३२ पुगेको पछिल्लो अद्यावधिक सरकारी विवरणमा उल्लेख रहेको छ।

वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४८३ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ।

त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वट सामुदायिक भवन र विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै सङ्ख्यामा जलविद्युत आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा ब्याङ्क तथा वित्तीय संस्थामा क्षति भएको  छ।

यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरू र नारायणी र त्यसका सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी र मर्स्याङ्दी लगायतमा उच्च जोखिम रहेको छ।

कन्काई, कमला, बागमती र पूर्वी रापती जलाधारका केही सहायक नदीहरूमा मध्यम देखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्क हुनुपर्ने तहमा पुग्ने जनाइएको छ।

यी नदीहरूलाई पनि उच्च जोखिम रहेको क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

त्यस्तै प्रदेश १ मा इलाम, झापा र मोरङसहित नौ जिल्ला, प्रदेश २ का आठ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला, गण्डकी प्रदेशका नौ जिल्ला र लुम्बिनी प्रदेशका चार जिल्ला उच्च जोखिममा छन्।

सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिन थालेको छ। त्यहाँका दुई जिल्ला दार्चुला र बझाङ हाल मध्यम जोखिममा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया