काठमाडौं - दुई महिनादेखि बन्द भएको आन्तरिक नियमित उडान आजबाट संचालनमा आएको छ ।
लामो समयपछि नियमित उडान खुलेको भए पनि विहीबार काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने यात्रुको चाप भने त्यति धेरै नरहेको बताइएको छ ।
अहिले उडान अवतरणमा ८० प्रतिशत अकुपेन्सी रहेको छ । यो अवस्थामा अत्यावश्यक कामका लागि आउजाउ गर्ने यात्रु मात्र हिँडेको बताइएकोे छ ।
नागरिक उड्डयन प्राधिकरणले तयार पारेको उडान तालिका अनुसार आन्तरिक उडानमा बुध्द, श्री, यती, सौर्य, तारा, समिट लगायत वायुसेवा कम्पनीले दैनिक क्रमशः ३१, १५, ७, ३, १, २ वटा उडान गर्ने छन् ।
दुई महिनापछि खुलेको आन्तरिक उडान मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ । आज बिहानैदेखि पानी परेका कारण भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकुलताका कारण यतिखेर विभिन्न आन्तरिक गन्तव्यको उडान १५ मिनेटदेखि आधा घण्टाको फरकमा भइरहेको छ ।
प्रतिक्रिया