दमक नगरपालिकाले आगामी आव २०७८÷७९ का लागि रु एक अर्ब ३८ करोड ४५ लाख ९९ हजारको बजेट निर्माण गरेको छ । नगरले भौतिक पूर्वाधारको साथै आर्थिक, सामाजिक विकासका गतिलाई अघि बढाउने उद्देश्यले कृषि, उद्योग, वाणिज्य तथा पर्यटन, सहकारी, पशुपक्षी विकास, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य तथा सामाजिक सुरक्षा र संरक्षण, खानेपानी, सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलगायतका क्षेत्रका लागि रु ४२ करोड ५२ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।
त्यसैगरी वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलगायतका क्षेत्रमा नगरले रु आठ करोड ९७ लाख ६८ लाख बजेट छुट्याइएको छ । नगरपालिकाले सङ्घीय सरकारले तोकेअनुरुप नै विद्यालयमा कार्यरत बालशिक्षिका र कर्मचारीलाई प्रतिव्यक्ति मासिक रु सात हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध नहुन्जेलसम्म करार कर्मचारीले पाए सहर संचय कोषको सुविधामा आवद्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।
कृषिक्षेत्र जनजीविकाको महत्वपूर्ण आधार भएको हुँदा कृषकलाई प्रोत्साहन गर्न अनुदान तथा निःशुल्क सेवाको व्यवस्था गर्न रु एक करोड नौ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना भइसकेको हुँदा ‘नजाऊँ विदेशमा, सम्भव छ आफ्नै ठाउँमा’ भन्ने नारा तयार गरेर नगरले अभियान सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले पर्यटकीय गन्तव्यमा फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थान, मठमन्दिर, गुम्बा, ग्रामथान तथा महाराजथान, माङ्गहिम, मदरसा, चर्च आदिको संरक्षण गरिनुका साथै छुट्टाछुट्टै स्थानको प्रोफायल तयार गर्ने योजना बनाएको छ । नगरले भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका क्रियाकलाप सञ्चालन गर्ने तथा भाषा, साहित्य कला र संस्कृतिमा योगदान पु¥याउने व्यक्तिलाई नगर साहित्यक पुरस्कार दिइने घोषणा गरेको छ ।
प्रतिक्रिया