मस्र्याङ्दी र कमला नदीको सतर्कता तह पार, बाढीले  पुल बगायो

५ बर्ष अगाडि

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । 

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । 

यस्तै अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो । 

सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ । पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताए । 

बाढीले छाब्दीखोला पुल बगायो

अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । 

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए । 

छिर्कनेमा घर पुरियो

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो । 

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया