पुनः मेलम्चीको बहाव बढ्यो, आज यी क्षेत्रमा चट्याङसहित भारी वर्षा हुने

५ बर्ष अगाडि

निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । 

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । 

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए । “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने ।

यस्तै  आज बिहीबार देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु सक्रिय भएकाले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ। बाँकी प्रदेशका एक,दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै तनहुँको बन्दीपुर, विमलनगर, सखर तथा चितवनको कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षाका भएका कारण सो क्षेत्रका ससाना नदीहरुमा आकश्मिक बहाव आउन सक्ने, भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया