तेमाल गाउँसभा : बहुमत पक्षिय टोली सभास्थलबाट हिंडेको मौका छोपी सभा सम्पन्न भएको घोषणा

५ बर्ष अगाडि

काठमाडौं - काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको नवौं गाउँसभा आज राती ८:३० बजे सम्पन्न भएको घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले राती ८:३० बजे आफू पक्षिय १२ जना सदस्यहरुको सहभागीतामा गाउँसभा सम्पन्न भएको घोषणा गरेका हुन् ।

पहिलो र दोस्रो पटक कोरम नपुगेको भन्दै तेस्रो पटक आव्हान गरेको गाउँसभामा बहुमत सदस्यहरुले सभा हलमा प्रवेश गर्न नदिएपछि बहुमत पक्षिय टोली सभास्थलबाट हिंडेको मौका छोपेर राती ८स्३० बजे सम्पन्न भएको घोषणा गरेको बताइएको छ ।  

गाउँपालिका अध्यक्ष तामाङले कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत नगरीकन सिधै गाउँसभामा प्रस्तुत गर्न खोजेको भन्दै बहुमत सदस्यहरुले विरोध गर्दै असार १० गते तोकिएको गाउँसभा बहिस्कार गरेका थिए । 

बहुमत सदस्यहरुले बहिष्कार गरेपछि कोरम नपुगेको भन्दै असार १३ गतेको लागि गाउँसभा तोकिएको थियो । उक्त दिन बहुमत पक्षिय सदस्यहरु गाउँसभामा सहभागी हुन सभाहलको गेटमै पुगेको बेला फेरी कोरम नपुगेको भन्दै सूचना जारी गरेर अध्यक्ष तामाङ समूह सभाहलबाट बाहिरिएका थिए ।

असार १५ गतेलाई तोकिएको गाउँसभामा बहुमत सदस्यहरुले विधि र प्रक्रिया मिचेर गाउँसभा गर्न पाउँदैन भन्दै सभा हलमा छिर्न नदिएपछि सहमतिको लागि भन्दै गाउँपालिका कार्यालयको प्रांगनमा खुल्ला रुपमा कार्यपालिकाको बैठक बसेका थिए । 

बेलुका ६ः३० बजेसम्म बसेको कार्यपालिकाको बैठकबाट निचोट ननिस्केपछि बैठक स्थलबाट सबै बाहिरीएका थिए । बेलुका ७ः३० बजेसम्म गाउँपालिका केन्द्रमा रहेका बहुमत सदस्यहरु फर्केपछि अध्यक्ष तामाङ पक्षका १२ जन सदस्यहरुले व्यानरको अगाडि बसेर तस्वीर खिच्दै गाउँसभा सम्पन्न भएको घोषणा गरेका हुन् ।

तस्बीरमा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, ७ नं। वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, ६ नं। वडा अध्यक्ष विकुलाल तामाङ, ३ नं। वडा अध्यक्ष बिष्णुबहादुर तामाङ र ७ जना वडा सदस्यहरुको मात्र सहभागी देखिन्छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया