पृथ्वीराजमार्ग र  बुटवल–नारायणगढ बन्द

५ बर्ष अगाडि

मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । 

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । “पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,” उनले भने, “त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।”

उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न शुरु भएको उनले बताए ।

यस्तै गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउदा बुटवल–नारायणगढ सडकखण्ड बिहानदेखि अवरुद्ध बनेको छ। पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाइएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो। 

सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भइ रहेको छ। अवरूद्ध सडकको डाइभर्सन बनाउने काम भइरहेको र पानी नपरे २ बजेभित्र सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। 

राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया