कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने, कस्तो छ तयारी ?

५ बर्ष अगाडि

काठमाडौँ– २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । 

माध्यमिक तहको अन्तिम परीक्षा भएकाले ढिला भएपनि लिखित रुपमै लिनुपर्छ भन्ने विज्ञहरुको सुझाब रहेकाले सोही अनुसारको तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

पौडेलका अनुसार बोर्डले अहिले १२ कक्षाको वार्षिक परीक्षा १०० पूर्णाङ्कको लिखित लिनेगरी तयारी भइरहेको छ । स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर भएपनि परीक्षा लिखित रुपमै लिने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्कको लिखित थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट वार्षिक परीक्षा गरिएको थियो ।

बोर्डले यसअघि जेठ २६ गतबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर उक्त समयमा कोरोना महामारीले तिव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

बोर्डले गत वैशाख २७ गते परीक्षा स्थगित गरेपछि कक्षा १२ र एसईई परीक्षाको मोडालिटी तयार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । 

कक्षा १२ को वार्षिक परीक्षा ढिला गर्दा विश्वविद्यालय तहको भर्ना प्रक्रियामा समेत असर पर्ने भएकाले जतिसक्दो चाँडो परीक्षा सक्न बोर्डलाई दबाव पनि रहेको छ ।

अघिल्लो वर्ष १२ कक्षाको परीक्षा ढिला हुँदा विश्वविद्यालयको भर्ना प्रक्रियामा असर पुग्नुका साथै वार्षिक क्यालेन्डरमा समेत असर पुगेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया