यूरोकप २०२० को क्वार्टरफाइनलमा स्पेन प्रवेश गरेको छ । क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो ।
पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो ।पहिलो हाफको ३८ औँ मिनेटमा पाबलो साराबियाले बराबरी गोल फर्काए । दोस्रो हाफको शुरुवातमा नै सिजार एज्पेलिकुएटाले स्पेनलाई अग्रता दिलाए भने फेरान टोरेसले स्पेनको अग्रता दोब्बर बनाए ।
जीततर्फ अग्रसर स्पेनलाई मिस्लाभ ओरसिचले ८५ औँ मिनेटमा झट्का दिए । इन्जुरी समयमा मारियो पासालिचले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपियो । अतिरिक्त समयको शुरुवातमा क्रोएसियाले स्पेनमा दबाब बनाउँदै गोलको अवसर सिर्जना गर्यो । त्यही बेला अल्भारो मोराटाले उत्कृष्ट गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए । त्यसपछि मिकेल ओयारजाबालले अर्को गोल थप्दै स्पेनको जीत सुनिश्चित गरे ।
अब स्पेनले क्वार्टरफाइनलमा फ्रान्स र स्वीटजरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए ।
यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई गोल तथा पाउल पोग्बाले एक गोल गरेपछि फ्रान्सले खेलमा दुई गोलको अग्रता लिएको थियो ।
खेल सकिन १० मिनेट बाँकी हुँदासम्म दुई गोलको अग्रता कायम राखेको फ्रान्सविरुद्ध स्वीटजरल्याण्डले पुनरागमन गर्यो । ८१ औँ मिनेटमा सेफेरोविचले एक गोल फर्काए भने अन्तिम मिनेटमा मारियो गाभ्रानोविचले खेल बराबरी गरे । खेल पेनाल्टी सुटआउटमा पुगेछि स्वीटजरल्याण्ड विजयी बन्यो ।
स्वीटजरल्याण्ड सन् १९५४ को विश्वकपपछि मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो पहिलो अवसर हो । अब क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड र स्पेन भिड्ने छन् ।
यस्तै आज अन्तिम १६ का दुई खेल हुँदैछन् । आज हुने खेलमा इङ्ल्यान्डले जर्मनी र स्विडेनले युक्रेनको सामना गर्नेछन् ।
यी खेलबाट युरो कपको क्वाटरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लाग्ने छ । नेपाली समय अनुसार राति पौने १० बजे इङ्ल्यान्डले घरेलु मैदान वेम्बली स्टेडियममा जर्मनीको सामना गर्नेछ ।
इङ्ल्यान्ड समूह ‘डी’को विजेता तथा जर्मनी समूह ‘एफ’ को उप विजेताका रूपमा नकआउट चरण प्रवेश गरेका हुन् ।
एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य क्वाटरफाइनल हुनेछ । यो खेलको विजेताले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
स्कटल्यान्डको हाम्पडेन पार्क स्टेडियममा नेपाल समय अनुसार राति पौने १ बजे हुने खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ ।
स्विडेन समूह ‘ई’को विजेता तथा युक्रेन समूह ‘सी’ बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरण प्रवेश गरेका हुन् ।
स्विडेन युक्रेनलाई हराउँदै क्वाटरफाइनल प्रवेश गर्ने प्रयासमा छ । युक्रेन पनि स्विडेनलाई स्तब्ध पार्दै अघि बढ्न चाहन्छ ।यो खेलको विजेताले क्वाटरफाइनलमा इङ्ल्यान्ड र जर्मनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया