युरो कप : साविक विजेता पोर्चुगल र नेदरल्यान्ड्स बाहिरियो, आज दुई खेल

४ बर्ष अगाडि

एजेन्सी - युरो कप २०२१ मा पोर्चुगललाई १–० ले हराउदै बेल्जियमले क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ । थ्रोगन हेजार्डले ४२औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट गोल गरेका हुन् ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो खासै चम्कन सकेनन् । पहिलो हाफमा उनले फ्रिकिकको अवसर पाए पनि त्यो निर्णायक हुन सकेन । यस क्रममा ३६ वर्षीय रोनाल्डोको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने सपना पनि पूरा हुन सकेन ।

साथै चेक रिपब्लिक पनि युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलमा चेकले नेदरल्यान्ड्समाथि २–० को जित हासिल गरेको हो । पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा नेदरल्यान्ड्सका म्याथिस डी लिग्टले रेड कार्ड पाएपछि चेक हाबी भएको हो । 

५५औं मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको केही मिनेटमै चेकले गोल गर्‍यो । चेकका लागि ६८औं मिनेटमा टोमस होलेसले गोल गरे । त्यस्तै, खेलको ८०औं मिनेटमा प्याट्रिक सिकले अर्को गोल थपेसँगै चेकको २–० को जित सुनिश्चित बन्यो ।

त्यस्तैै आज दुई खेल हुँदैछन् । आज हुने खेलमा क्रोएसियाले स्पेन र फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछन् । नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपनहेगनमा हुने खेलमा क्रोएसिया र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।

क्रोएसिया समूह ‘डी’को उप विजेता तथा स्पेन समूह ‘इ’ को उप विजेताका रूपमा नकआउट चरण प्रवेश गरेका हुन् । एक अर्काविरुद्ध मैदान उत्रिँदा दुबै टोलीको लक्ष्य क्वाटरफाइनल हुनेछ । यो खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

रोमानियाको बुकारेस्टमा नेपाल समय अनुसार राति पौने १ बजे उपाधि दाबेदार मानिएको फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ । फ्रान्स समूह ‘एफ’को विजेता तथा स्विट्जरल्यान्ड समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा नकआउट चरण प्रवेश गरेका हुन् ।

फ्रान्स स्विट्जरल्यान्डलाई हराउँदै क्वाटरफाइनल प्रवेश गर्ने प्रयासमा छ । स्विट्जरल्यान्ड पनि फ्रान्सलाई स्तब्ध पार्दै अघि बढ्न चाहन्छ । यो खेलको विजेताले क्वाटरफाइनलमा क्रोएसिया र स्पेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया