काठमाडौं - काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप हुने भएको छ । वैशाख १६ देखि जारी निषेधाज्ञा पछिल्लो पटक थप गरिएको आज सकिँदै छ ।
आज विहान थप खुकुलोसहित एक हप्ता थप्ने तयारी गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । थप भएको निषेधाज्ञामा उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न प्रशासन कार्यालयहरू एकमत भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठक उक्त निष्कर्षमा पुगेको हो । तर अन्य के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा अझै निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यातायात व्यवसायीले भने यसबारे असन्तुष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीमार्फत गाडी चलाउँदा यात्रुको चाप बढेर कोरोना संक्रमण झन् फैलिए त्यसको जिम्मेवार आफूहरू नहुने बताए ।
सबैखाले गाडी चल्न दिएर भीडभाड कम गर्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया