काठमाडौं - गण्डकी प्रदेश सरकारका ४ विना विभागीय मन्त्रीहरुले आज जिम्मेवारी पाउँदैछन् । शुक्रबार नै जिम्मेवारी टुङ्गो लागेको भएपनि आइतबार मात्र उनीहरुलाई जिम्मेवारी दिन लागिएको हो ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कुमार खड्काका अनुसार बजेटमाथि छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय टुंग्याइएको छ । मुख्यमन्त्री नियुक्त भएकै दिन २९ जेठमा मुख्यमन्त्री पोखरेलले ४ मन्त्रीसहित सपथ लिएका थिए ।
स्रोतका अनुसार मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएकी छन् । कांग्रेसका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय लिनेछन् ।
स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय दिने भएका छन् । यद्यपि मनाङे त्यसमा असहमत छन् । आफूलाई सरकार गठनका बेला भौतिक दिने भनिएकाले भौतिक मन्त्रालय नै दिनुपर्ने उनको अडान छ ।
भौतिक नपाए सरकारमै नजाने उनको टिप्पणी छ । जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा तथा सिँचाई मन्त्रालय लिने भएका छन् ।
मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर दलहरुबीच विवाद भएपछि उनले विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न र मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।
कांग्रेस, माओवादीले भौतिक तथा अर्थ र जनता समाजवादीले अर्थ दाबी गरेपछि गठबन्धनमा सहमति हुन सकेको थियो । कांग्रेसका १५, माओवादीका ११, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका दुई दुई सांसदको साथमा पोखरेल मुख्यमन्त्री बनेका थिए ।
प्रतिक्रिया