काभ्रे कुशादेवीको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रालिले सरकारी प्रतिक चिन्ह (लोगो) प्राप्त गरेको छ । शुक्रबार पनौती उद्योग वाणिज्य संघ, नेपाल डेरी एसोसियसन र पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखाबाट संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा डेरीका सञ्चालक रबिन्द्र हुमागाईंलाई नगर प्रमुख भीम न्यौपानेकोले लोगो हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थहरुको ढुवानीका लागि डेरीलाई सरकारी लोगो प्रदान गरेको हो ।
सो डेरीले निजीतर्फ नेपालमै पहिलो पटक लोगो प्राप्त गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले यस अघि लोगो प्राप्त गरी प्रयोगमा ल्याइसकेको छ ।
कार्यक्रममा पनौती नगर प्रमुख भीम न्यौपाने, उप–प्रमुख गीता बन्जारा,उद्योग वाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा, नेपाल डेरी एसोसिसयनका महासचिव प्रह्लाद दाहाल लगायतको उपस्थिती रहेको थियो ।

प्रक्रिया सहित निवेदन आएपछि थप निजी क्षेत्रका डेरी उद्योगहरूलाई पनि मागका आधारमा प्रतीक चिन्ह हस्तान्तरण गर्दै जाने योजना रहेको बोर्डका कार्यकारी निर्देशकले जानकारी दिए । अब प्रतीक चिन्ह अंकित दुग्धजन्य पदार्थ बोकेका गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल चैत्र १२ गते दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह को सार्वजनिक अनावरण गरेका थिए ।
प्रतिक्रिया