काठमाडौं - झण्डै दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल सुरु भएको छ । कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेषगरी काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन् ।
असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ विभिन्न निकायसँग छलफल सुरु गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिए ।
बिहीवार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरूबीच यातायात सञ्चालन गर्ने सम्बन्धमा भएको छलफलमा १७ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुने भएकाले सार्वजनिक यातायात पनि खुलाउने विषयले प्राथमिकता पाएको थियो ।
जोर बिजोर या सङ्ख्या नै तोकेर गाडी चलाउन सकिने विषयमा प्रमुख जिल्ला अधिकारीहरू सकारात्मक देखिएका छन् । तर पहिले महामारी पछि गाडी खुल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भन्दै अब त्यस्तो हुन नदिइने प्रजिअ रिजालले जानकारी दिए ।
यातायात व्यवसायीको माग र मोडालिटी तय गरेर यातायात सञ्चालनको लागि सीसीएमसीमा प्रस्ताव लैजाने तर कहिले खुल्छ भनेर ठ्याक्कै भन्न नसकिने उनले बताए ।
प्रतिक्रिया