काठमाडौं - काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । करिब दुई महिना अघिदेखिको निषेधाज्ञालाई अझै निरन्तरता दिइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले फेरि निषेधाज्ञा थप हुने बताएका हुन् । नागरिकको स्वास्थ्य र संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइने उनले बताए ।
चरणबद्ध रुपमा स्वास्थ्य मापदण्डमा कडाइ गरी केही क्षेत्र खुकुलो भएको छ । निजी सवारी–साधनमा जोर–बिजोर लागु गरिएको छ । असार १४ गतेसम्मको संक्रमणदर अहिले नै पूर्वानुमान गर्न नसकिने बताइएको छ ।
सार्वजनिक सवारी–साधन चल्न दिनेबारे केही पनि छलफल नभएको बताइएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ । मोटरसाइकल कार, जीप, ट्याक्सी चलाउन दिइएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भइरहेका छन् ।
विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । पठाओ र टुटल सेवा सञ्चालनमा आइसकेका छन् । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान गर्न दिने निर्णय पनि गरिसकेको छ ।
उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिनुको एउटै उद्देश्य भिडभाड नियन्त्रण गर्नु बताइएको छ । निषेधाज्ञा थप्नु अघि विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर मात्रै निर्णय लिँदै आएका पनि बताइएको छ ।
प्रतिक्रिया