१८ करोड राजश्व चुहावटको आरोपमा दुई भारतीय नागरिक विरुद्ध मुद्दा दायर

५ बर्ष अगाडि

काठमाडौ, राजस्व अनुसन्धान विभागले अठार करोड राजश्व चुहावट आरोपमा दुई भारतीय नागरिक विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । 

विभागले  बुधबार सिंहपुर, रक्सौल, पूर्वी चम्पारण, भारत स्थायी ठेगाना भई वीरगञ्ज बस्दै आएका अशोक कुमार सिन्हा र निवेदिका सिन्हा विरुद्द उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) मा मुद्दा दर्ता गरेको हो । 

भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा विभागले उनीहरुबाट १८ करोड ६५ लाख रुपैयाँ विगो असुल गरी निजहरुलाई जरिवाना र कैद मागदाबी लिई मुद्दा दर्ता गरेको छ ।

निवेदिका सिन्हा र निजको बुबा भारतीय नागरिक अशोक कुमार सिन्हाले २२ हजार ९५७ दशमलव ४८ ग्राम सुन र १ हजार ७८ ग्राम चाँदीका गरगहना अवैध रुपमा भन्सार चोरी पैठारी गरी लुकाइ छिपाई भण्डारण गरी राजश्व चुहावट गरेको पाइएको विभाले जनाएको छ ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेको कसूर स्थापित हुन आएकोले निजहरुलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम जरिवाना, दफा २३ (१) (घ) बमोजिम कैद सजाय र बरामद भएको सुनरचाँदी सोही ऐनको दफा ३३ (१) बमोजिम जफत हुन मागदाबी लिई मुद्दा दायर गरिएको विभाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया